सदाबहार खप्तड



किशोर खड्का
धर्तिको स्वर्ग उपमा पाएको खप्तड घुम्न कुनै समय कुर्नु पर्दैन जति बेला पुग्दा पनि खप्तड सिंगारिएर बसेको हुन्छ । सायद त्यसैले त होला महादेबले पनि पार्बतिसँग बिहे पछि हनिमुन मनाउन खप्तडलाई नैं रोजेको, शाष्त्रमा यसै लेखिएको छ । 

खप्तड मनपराउनेमा र लामो समय ब्यतित गर्नेमा खप्तड स्वामिका नामले प्रसिद्ध श्री सच्चिनानन्द सरस्वती पनि पर्दछन् । उनले लामो समय खप्तडमा बिताए । खप्तडमैं ध्यान, योग गरे भने बिचार बिज्ञान जस्ता कृतिहरु पनि जन्माए । स्वर्गिय राजा बिरेन्द्रको पनि प्रिय ठाउँ मध्येको एक खप्तड नैं बन्यो । उनि खप्तड बाबा भेटन र खप्तड घुम्न बारम्बार खप्तड गईरहे । उनि खप्तड जाँदा त्यहाँ बिश्राम गर्नका लागि बिश्राम गृह नैं बनाईयो जुन अहिले संग्रहालयको रुपमा रहेको छ ।



खप्तड बिदेशी पर्यटकहरु न्युन संख्यामा पुगेको भएपनी त्यहाँ पुगिसकेपछि उनिहरुको अनुभव भने निकैं आनन्दमय रहेको पाईन्छ । केहि बर्ष अगाडि लगातार १ बर्ष दक्षिण एसियाको भ्रमण गरी खप्तड पुगेको स्पेनका एक पर्यटकको जोडि (कार्लोटा डेल पोजो र म्युगेल एन्जेल) ले खप्तडको निकैं सुन्दर ढंगले बर्णन गरे । पाउल नामका ति पर्यटकले लेखेका छन्, मैले दक्षिण एसिया लगायत बिश्वका धेरै ठाउँ भ्रमण गरें तर खप्तडको जस्तो सुन्दर भूमि र लालिगुँरास अन्त देखिन् । त्यस्तै प्रसिद्ध पदयात्री रबिन बौस्टाडले लेखेका छन् With my last few steps I reached the top of a small hillock and stood spellbound from the Kumaon Himal to Dhaulagari, half of Nepal stretched in an almost limitless panorama. After nearly twenty years of exploring Nepal this was the view I had only dreamed of, and yet another reason for making the effort to reach Khaptad.

प्रत्येक बर्ष खप्तड पुग्ने आन्तरिक पर्यटकको संख्या करिब ३ हजार छ । गत बर्ष यो संख्या भित्रमा पूर्ब युवराज पारश शाह तथा पूर्ब मुख्य सचिव लिलामणि पौड्याल हाल चिनका लागि नेपाली राजदुत पनि परें । उनिहरु पदयात्रा गर्दै र स्थानिय स्रोत साधनको उपयोग गर्दै खप्तड पुगें । उसो त समय समयमा राष्टप्रमुखहरु पनि खप्तड पुग्ने गर्दछन् । उनिहरु खप्तड पुग्दा हेलिकप्टरमा गएर केहि समय बिताउने गरेर फर्कने गर्दछन् । 


खप्तड पछिल्लो समय आन्तरिक पर्यटकहरुको पहिलो रोजाईमा पर्न थालेको छ । देशका बिभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु खप्तड पुग्न थालेका छन् । हालसालैं रानी सिनेमाको युनिटले सिनेमाको केहि अंश र केहि गितहरु खप्तडमा छायाकंन पनि गरेका छन् । त्यसैगरी पर्यटन र होटेल ब्यवस्थापन पढाई हुने कलेजहरुले फिल्ड भिजिटलाई खप्तड प्राथमिकतामा पार्ने गरेका छन् ।

खप्तडको आर्कषण
खप्तडको बारेमा धेरै सुनेका र तस्विर तथा दृष्यमा धेरै पटक देखेका लेखक तथा बिश्लेशक दिल निशानी मगर गत बर्ष गंगा दशहरा मेलाको अवसर पारेर खप्तड पुगे । शरिर केहि मोटो र हिडने बानि कम भएका निशानीलाई ५ घण्टाको पैदल यात्रा पनि सकस बन्यो । जब उनले खप्तडमा पाईला टेके उनि निकैं उत्तेजित भए, उनको थकान क्षणभरमै हरायो । यस्तै अनुभव पत्रकार केदार दाहाल, अच्युत पुरी, बिश्वास रेग्मी, पुजा ढकाल आदिको पनि रहयो । 

हरिया ठूला ठूला घाँसे मैदानहरु चारैतिर जंगलले घेरिएका, अपि साईपाल हिमालका श्रृखंलाहरु लहरैं उभिएको देख्दा सोट्टो नेपालका पूर्ब अध्यक्ष तथा पर्यटन ब्यवसायी यम खड्का कम्ता लोभिएनन् । खप्तड बाबा आश्रम, त्रिबेणी धाम, सहस्रलिंग आदि स्थानहरु पुग्ने धार्मिक पर्यटकहरु खप्तडलाई ३३ कोटि देबि देबताको राजधानी नैं मान्दछन् ।


खप्तड प्राकृतिक सुन्दरताका साथसाथैं योग भूमि रहेको योगि ब्यग्रबेदनाथ बताउँछन् । उनले पनि लामो समय खप्तडमा बसेर योग साधना गरें । खप्तडमा कस्मिक इनर्जि निकैं उच्च तहमा रहेकाले योग गर्नेहरुका लागि यो भूमि निकैं लाभदायक रहने उनको दाबि छ । त्यसैले त होला खप्तड स्वामीले योग, साधना र चिन्तनका लागि खप्तडलाई नैं रोजेको । 

केहि बर्ष पहिला नेपाल पर्बतारोहण प्रशिक्षण प्रतिष्ठानले खप्तडमा स्किको सम्भाब्यता अध्ययन गर्यो । बिज्ञहरु भन्छन्, ३ महिना सम्म खप्तडमा स्नो स्किको मज्जा लिन सकिन्छ । श्रावण देखि असोज सम्म खप्तड बिभिन्न थरिका फूलले ढाकिएको हुन्छ, मानौं कुनैं मालिले शदियौं देखि सजाएर राखेको फुलको बगैंचा हो । फागुन चैत्र महिनामा यहाँ फुल्ने रंगि बिरंगी लालिगुराँसले स्पेनको पर्यटकको जोडिलाई पनि बर्णन गर्न बाध्य तुल्यायो । जेठ र कहिले असारमा पर्ने गंगादशहरा मेलामा खप्तड पुगि त्रिबेणी स्नान गर्नेको संख्या २ हजारको हाराहारीमा हुन्छ ।


खप्तडमा साच्चिकैं पर्यटकीय चहल पहल हुन र पर्यटनबाट स्थानिय बासिन्दाले प्रत्यक्ष लाभ पाउन खप्तड क्षेत्र पर्यटनका दृष्टिले उच्च ब्यवसायीक बनाईनुपर्ने सुवास सिंह बताउँछन् । उनको खप्तड भ्रमण पश्चात सुझावमा नीजि क्षेत्रलाई खप्तडमा ब्यवसाय सञ्चालन गर्न दिईनु पर्ने थियो । तर राष्ट्रिय निकुञ्जको नीतिले निकुञ्ज क्षेत्रभित्र होटेल ब्यवसाय संचालन गर्न नदिदा खप्तडमा पर्यटकहरुलाई आवास तथा खानपिन र अन्य पर्यटकीय गतिबिधीका लागि निकैं कठिनाई भईरहेको स्थानिय पर्यटन ब्यवसायी तथा अभियन्ताहरुको ठहर छ । खप्तड जस्ता क्षेत्रहरुमा सरकारले बिशेष नीति ल्याएर लगानी मैत्रि वातावरण श्रृजना गर्नुपर्ने उनिहरुको माग छ । यसो नगर्दा निकुञ्ज प्रतिको अपनत्व घटन गई भोलिका दिनमा संरक्षणमा पनि असर पर्ने उनिहरुको चेतावनी छ ।


कसरी पुग्ने खप्तड ?
खप्तड जान बझांग, बाजुरा, डोटी र अछामबाट बाटोहरु छन् । अहिलेको अवस्थामा भने बझांगको बाटो हिडनका लागि अन्य बाटोहरु भन्दा छोटो र सहज छ । खप्तडमा ब्यवसायीक गतिबिधि प्रचुर मात्रामा हुन नसेककाले टुर अप्रेटर्स, स्थानिय पर्यटन ब्यवसायी र अभियन्तासँगको सहकार्यमा खप्तड जाँदा केहि सहजता हुने ठम्याई पर्यटन ब्यवसायी तथा अभियन्ता रमन श्रेष्ठको छ । यसो गर्नाले आवाशिय तथा खानपिनको ब्यवस्थापनमा सहज हुने उनेको दाबि छ । खप्तडबाट फर्कदा अछामको नैंनि भएर फर्कदा नैंनि धार्मिक पर्यटकीय क्षेत्र अबलोकन गर्न सकिने र यात्रा थप आनन्दमय हुने पर्यटन ब्यवसायी मिन रानाको दाबी छ । उनका अनुसार नैंनि योग र बिश्रामको लागि उर्पयुक्त स्थान छ । नैंनिमा ब्यवसायी रानाले लज पनि संचालन गरेका छन् ।


काठमाण्डौंबाट खप्तड पुगि काठमाण्डौं फर्कन ८ दिनको समय र करिब २५ हजार रुपिया आवश्यक पर्दछ । समय समयमा स्थानिय ब्यवसायीहरुले सोहि समय र मूल्य निर्धारण गरि खप्तडको प्याकेज संचालन गर्दै आएका छन् । यो समय र पैंशा गाडिमा यात्रा गर्दाको रहेको र जहाजमा यात्रा गर्दा २० हजार र जहाज भाडा थप लाग्ने खप्तडमा प्याकेज टुर संचालन गरिसकेका एरोलिना ट्राभेल्सका संचालक यम खड्का बताउँछन् । 


सम्पर्क गरेर गएको खण्डमा घोडा लगायत अन्य ब्यवस्थापन गर्न कुनै कठिनाई नरहेको स्थानिय पर्यटन अभियन्ता तथा खप्तड क्षेत्र पर्यटन बिकास समिति सदस्य डबल बोगटीको दाबि छ । बोगटीको नेतृत्वमा बझागंको लामातोला (खप्तड) पदमार्गमा होमस्टे अभ्यास पनि भईरहेको छ । 

पहिला देश अनि बिदेश
नेपाल सरकार तथा नेपाल पर्यटन बोर्डले नारा र अभियानको रुपमै पहिला देश अनि बिदेश अभियान चलाएको छ । यसैं अभियान र नारालाई सार्थक पार्न गत बर्ष २०७३ लाई नेपाल सरकारले आन्तरिक घुमफिर बर्षको घोषणा गर्यो । 

सुदूरपश्चिमबासिका तर्फबाट पनि खप्तड भ्रमणका लागि चुले निम्तो छ । देश डुलौं, खप्तड एक पटक अवस्य पुगौं । 
तस्विर स्रोत: बैकुण्ठ गौतम तथा अंगद ढकाल
khadkaje@gmail.com




Comments

Popular posts from this blog

सुदूरपश्चिममा चैते दशैको रौनक, लींगो ठड्याउने संस्कृति (तस्वीरमा)