देशलाई बचाउने हो भने राष्ट्रवादी तानाशाहको बिकल्प छैन
देश अहिलेको जटिल परिस्थितीबाट गुज्रिरहेको अवस्थामा यति धेरै कडा र देश सञ्चालनको बिकल्प तानाशाह खोज्नु मेरो अन्तिम बुझाई भएको छ । देशमा प्रजातन्त्र, दलहरु र राजनीतिका सबै अभ्यासहरु करिब करिब फेलुयर भईसकेको मेरो बुझाइ हो ।
हुन त अहिलेको अवस्था ईन्धन, ग्याँ
स, खाद्य पदार्थको बिकल्प खोज्ने बेला हो । यो सम्पूर्ण राजनीतिक सिस्टम र राज्य सञ्चालनको बिकल्प खोज्ने बेला होईन होला भन्ने सबैको बुझाई हुन सक्छ । तर एउटा कुरा के हो भने, यति बेला पनि हामीले ठोस निर्णय लिन सकेनौ र यहि भुलभुलैमा रुमल्लि रहयौ भने हामी कहिल्यै यो अस्थिरताको भुमरीबाट बाहिर आउन सक्दैनौ ।
राजनीतिक दलहरु, प्रजातन्त्र र राज्य सञ्चालन पद्धति पुरै फेलुयर भईरहेको स्थिति
२००७ सालमा जहानिया राणा शासनबाट देश र देशवासीले मुक्ति पाएपछि देशमा प्रजातन्त्रको लहर चल्यो । च्याउ उम्रिएझै राजनैनिक दलहरु उम्रिन थाले र यो सँगै हजारौ नेताहरु पनि । यो कालखण्डको ठूलै समय राजसंस्थाले पनि देशको बागडोर सम्हाल्यो । तर कोहि कसैले पनि देशका जनताले सम्मान गर्ने र धक फुलाएर भन्न सक्ने स्थायित्व, शान्ति र सम्बृद्धि ल्याउन सकेनन । हुदा हुदा देश आज औषधी पनि नपाउने अवस्थामा पुगेको छ ।
२००७ सालपछि कहिल्यै पनि देशको राजनीति र राज्य सञ्चालन पद्धति स्थिर हुन सकेन, अझै यहि तवरबाट अगाडि बढयो भने कालान्तरका हजारौ बर्ष सम्म पनि यो अवस्थाबाट पार पाउने अवस्था देखिदैन । हेर्ने नै हो भने २००७ साल पछिको अवस्थालाई जनताले सन्तुष्टि गर्ने कुनै एक उदाहरण छैन । एउटा पनि त्यस्तो उदाहरण भेटिदैन, जसमा उल्लेख्य प्रगति भएको होस । चाहे त्यो शिक्षा, स्वास्थ्य, बिकासका पूर्बाधार, राजनीतिक स्थिरता, जलस्रोत, बाटो घाटो अंह ।
कहिले पञ्च्यात ढाल्ने, कहिले ज्ञानेन्द्र फाल्ने, कहिले कांग्रेसको सरकार ढाल्ने, कहिले माओवादी हतियार उठाउने सबैले देश र देशवासीको नाममा देशलाई अस्थिरतातर्फ धकेल्ने तर कोहि पनि देश र देशवासीको लागि नसोच्ने । आफनै स्वार्थ, समुन्नती, भविष्यको लागि बाहेक कुनै दल, नेता र ब्यक्ति देशमा जन्मिएनन । यो भन्दै गर्दा कहिले काहि कोहि त्यस्ता ब्यक्ति, नेता र दल नदेखिएका पनि होईनन यद्यपी उनिहरुको एक्लो प्रयास र भटभटयाई सुन्ने, बुझने र समर्थन गर्ने कोहि भएनन ।
एउटाले आगो बाल्ने, अर्कोले पानी हाल्ने
देश प्राकृतिक स्रोत साधनले धनि छ, त्यसको सहि सदुपयोग गर्न सके हामी आर्थिक रुपले सम्पन्न हुन सक्छौ भन्ने भनाई अब नारामै सिमित भईसकेको छ । अब त आशा पनि छैन, नेपालका खोला नाला नदिहरुबाट बिद्युत निकालेर प्रशस्तै फाईदा लिईएला, पर्यटन, कृषि, बनबाट मनग्य आर्थिक फाईदा लिन सकिएला भन्ने । आशामै सबै योजना र स्रोत साधनहरु तुहिने भए । कुनै दिन हिमालको हिउ पनि हराउँछ, खोला नाला पनि सुक्छन, बन पनि मासिन्छ र कृषि योग्य जमिन पनि काम नलाग्ने हुन्छ ।
कांग्रेसले थालेको योजनामा एमाले र माओवादीले बिरोध गर्ने, माओवादीले सुरु गरेको योजना कांग्रेसले सफल हुन नदिने । कहिले माथिल्लो कर्णालीमा आफना कार्यकर्ता दवारा बिरोध गर्न लगाउने, कहिले मेलम्चीका जनतालाई उचालेर आन्दोलन गर्न लगाउने त कहिले गुण्डा नाईकेहरुलाई प्रहरीले कारबाही गर्दा पार्टिको झण्डा ओढाएर प्रहरीको कार्यमाथि नै प्रश्न चिन्ह लगाउने ।
पछिल्लो अवस्थालाई हेर्ने हो भने कांग्रेस, एमाले, माओवादी, राप्रपा नेपाल र अन्य दलहरु मिलेर संबिधान बनाउने, असन्तुष्ट पक्षलाई बाहिर राखेर संबिधान जारी गर्ने तर संबिधान जारी भईसकेपछि त्यसलाई कार्यान्बयन गर्न प्रमुख भनाउदा दलहरु एक आपसमा नमिल्ने ।
केपि ओलिको नेतृत्वमा रहेको सरकारले भारतको नाकाबन्दिको कडा बिरोध गर्ने, मधेशमा चलेको आन्दोलनलाई सम्बोधन गर्न खोज्ने तर संबिधान बनाउन सबैभन्दा बढी जनमत पाएको र महत्वपूर्ण भूमिका निभाएको नेपाली कांग्रेस एकातिर भारत अर्कातिर मधेशमा आन्दोलन गरिरहेका सेरोगेट भाईहरुलाई भित्र भित्रै उचाल्न तर्फ लाग्ने ।
जनताले के पाए के गुमाए
२००७ साल पछि नेपाली जनताले के पायौ र के गुमायौ ? २००७ सालपछि देशमा प्रजातन्त्र आएसँगै मौलिक हकअधिकारहरुको प्राप्ति भयो, जनप्रतिनिधीहरुले राज्य सञ्चालन गर्ने मौका पाए, हामी स्वतन्त्रतापूर्बक कानुनले दिएका हक अधिकारको सदुपयोग गरयौ ।
हाम्रा हकअधिकारको दायरा यति धेरै नाघयो कि हामीले आफनो हक अधिकारको उपयोग गर्दा अर्काको हक अधिकार हनन भएको कहिल्यै ख्याल गर्न सकेनौ । सेरोगेट भाईहरुको माग र स्वार्थ पुरा नहुदाँ देशलाई नै अभावमा ठेलिदिने, माओवादीको माग र स्वार्थ पुरा नहुँदा १५÷१५ दिन सम्म नेपाल बन्द गरिदिने, दश बर्ष देशलाई दन्द्धमा धकेलिदिने, केपि ओलीले सरकार कुर्चिको आयु बढाउन बढि भन्दा बढि नेतालाई रोजगार दिएर राज्यको ब्ययभार बढाईदिने, नेपाली कांग्रेसले बहुमतको सहमतिमा टनकपुर जस्ता सन्धिहरुमा नेपालको स्रोत साधन नै भारतलाई हस्तान्तरण गरिदिने ।
तर हामी जनताले धेरै स्वतन्त्रता खोज्दा खोज्दा आज आएर यो अवस्था सम्म पुग्यौं । आज घरमा चुलो नबल्दा, बिरामी हुदा औषधी, यात्रा गर्न गाडि, काम गर्न जागिर, खानलाई पानी, बाल्नलाई बिजुली नपाउँदा प्रजातन्त्र र स्वतन्त्रालाई सिरानी बनाएर मिठो निद्रा पक्कै लाग्न सक्दैन होला ।
मौलिक हकको प्रयोग गर्दै वाक स्वतन्त्राको फाईदा उठाउदै टुडिखेलमा कराउदैमा, लेख लेखेर मनको भडास ओकल्दैमा मेरो पेट भरिदैन, चढनलाई गाडि पाउदिन, आगो बाल्न ग्यासं पाउदिन, बिरामी हुदा औषधि पाउँदिन, शिप र क्षमत्ता हुदा जागिर पाउदिन । अनि गासँ, बासँ र कपास न्युनतम जिवन बाच्ने आधार नै हुदैनन भने प्रजातन्त्र, स्वतन्त्रताको के अर्थ नै रहयो र ?
अहिलेको अवस्थाको दोशि जनता, राजनैतिक दल या प्रजातन्त्र ?
अहिले देशमा भारतले नाकाबन्दि गरेको करिब २ महिना पुग्न लागेको छ । उसले नाकाबन्दिको मुख्य कारण मधेशमा भईरहेको अशान्तिलाई देखाएको छ । उक्त अशान्तिले आफनो गाडि, नागरिकहरुको सुरक्षा नभएको ईण्डियाको भन्ने बाहना भएको छ ।
भारतको कारण र बाहानालाई नै आधार मान्ने हो भने पनि, प्रजातन्त्र र स्वतन्त्रताको नाममा यो अशान्ति त बनाईएकै हो । प्रजातन्त्र र मौलिक अधिकारको सदुपयोग गर्दै बिरोध र बन्द त गरिएकै हो । यसरी जनतालाई दुःख दिने गरि गरेको क्रियाकलाप मान्य नहुने र ठाडै गोलि ठोक्ने आदेश भएको भए आज औलामा गन्न सकिने सेरोगेट भाईहरुको स्वार्थको लागि सम्पूर्ण देशवासिले यति धेरै अभाव र दुःखको सामना गर्नु पथ्र्यो र ?
देशमा भएका स्रोत साधनहरु जलबिद्युत, पर्यटन, बन, कृषिलाई देशको आर्थिक सम्बृद्धिको आधार मानेर योजनाबद्ध तवरबाट अगाडि बढेको भए आज यो अवस्थाबाट हामी गुज्रनु पथ्र्यो त ? आज हामी पेट्रोलबाट चल्ने गाडिको साटो बिद्युतिय बाहान प्रयोग गर्न सक्दैन थियौं ? कृषिलाई ब्यवसायिकरण गरि प्रोत्साहन गर्न सके खाद्यान्न र तरकारी नेपालकै खान सक्दैन थियौं ? बासँबारी छालाजुत्ता, जुट कारखानामा चरम घोटाला गरि बन्द गर्ने अवस्थामा नल्याएको भए नेपाली लत्ता कपडा लगाउन सक्दैन थियौं ? प्रशस्त बिजुली भएको भए खाना पकाउन ग्यासँ कुरेर बस्ने थियौं ? नेपालमा भएका भनिएका ईन्धनका खानि उत्खनन गर्न तर्फ लागेका भए अहिले सम्म भारत र चिनबाट आउने ईन्धन, ग्यासँ आदि कुरेर बस्ने थियौं ? पक्कै थिएनौ ।
हामी जनतालाई गरिब बनाउने, अन्धकारमा राख्ने, आफनो भक्त बनाउने काम सधै भरी नेताहरु र राजनैतिक दलहरुबाट भईरहयो । झुटो र अब्यवहारीक आश्वासन दिने र सोझा जनतालाई झुक्याउने काम सबै जोगिहरुले गरे । हामी जनता पनि आशा र झुटो आस्वासनमा रुमल्लि रहयौ । नेता र दलहरुको चंगुलबाट मुक्त हुन सकेनौ । हुन पनि प्रजातन्त्रको बिकल्प प्रजातन्त्र नै हो अरु हुन सक्दैन ।
२००७ साल अगाडिको समय त भोगिएन, पढियो तर देश दन्द्धकालमा रहदा र ज्ञानेन्द्रले कु गरेपश्चात हामीले हाम्रा मौलिक अधिकारको हनन भएको भोगेकै हौ, मैले पनि भोगेकै हो । त्यसपछिको अवस्था र मौलिक हक अधिकार प्राप्त हुँदा, जनप्रतिनिधीबाट राज्य सञ्चालन हुँदा र जनप्रतिनिधीले संबिधान बनाउदा अपनत्वको महशुष भएकै हो र गर्व गर्ने ठाउँ छदैछ ।
तर भोको पेटले मैले मेरो मोलिक हक अधिकारको सदुपयोग कति र कहिले सम्म गर्ने ? कहिले सम्म हिडेर गएर सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन र बिकासको एडभोकेसी गर्ने ? कति सम्म गौसालाबाट काधँमा मुडा बोकेर करिब ६ किलोमिटर हिडेर काठमाण्डौं जस्तो ठाउँमा जिवन निर्बाह गर्ने ?
बोतल नयाँ भएर मात्र भित्रको रक्सिको स्वाद र स्तर फेरिदैन
निश्चय पनि, देश जनताले बनाएको संबिधान नहुँदा पनि चलेकै थियो, संघियता नहुदा पनि चलेकै थियो । भएको कानुन पालना नगर्नु जनतालाई कसैले भनेको थिएन, राज्यलाई लागु नगर्नु भन्ने निर्देशन थिएन । झापाबाट उदाएका केपि ओलीलाई सुदूरपश्चिमको दार्चुला जिल्लामा पुल हाल्न हुदैन भनेर कसैले भनेको थिएन, डडेलधुराबाट आएका देउवालाई सोलुखुम्बुमा बाटो बनाउन कसैले रोकेको थिएन ।
आज देशमा संघियता छ तर नेपाललाई नँया नेपाल भनेझै शब्दले सम्पूर्ण बिकास, हक अधिकारको प्राप्ती हुन्छ भने त यो भन्दा अझ राम्रा र धेरै शब्दहरु प्रयोग गरौ तर ब्यवहारमा लागु गर्ने हो भने खोई ? जनता उहि, भूगोल उहि, नेता उहि, दल उहि, क्षमत्ता उहि र स्रोत साधन उहि । अनि रातारात संघियता नामको जादुको छडिले कायापलट गर्ने हो र ?
अपनत्वको कुरा गर्ने हो भने, नेपाल काफि छैन र हामी नेपाली हुनु नै प्रशस्तै छैन र ? म प्रदेश नं. ७ को बासिन्दा हुनुले बढी गर्व गर्ने कि नेपाली हुनुले गर्व गर्ने ?
बिकल्प के त ?
यति धेरै गुनासो र निराशाका बाबजुद यदि बिकल्प दिन र सुझाव पेश गर्न सकिएन भने आलोचना गर्नका लागि मात्र मेरा शब्द र तपाईको समयको बर्बाद गरिएको हुनेछ । तसर्थ यो देशलाई माया गर्ने र देशको समुन्नती हेर्न चाहने एउटा नागरिकको हैसियतले मैले आफनो सुझाव प्रश्तुत गर्नै पर्ने हुन्छ ।
नाकाबन्दि भएको २ महिना पुग्नै लाग्दा राष्ट्रियता कमजोर भएको छैन बरु थप बलियो र शसक्त भएको छ । तर देशको बागडोर सम्हालिरहेको नेतृत्वलाई हेर्दा भने कहि कतै आशाको किरण देखिदैन । हामी जनताले पैदल हिडेर, काचो पाको खाएर नेताहरुको अडान र राष्ट्रियताको मामिलामा खडा भएकै छौ र हुनेछौ । कतिपय अवस्थामा धेरै बक्ताहरुका बोली, लेखकहरुका कलम सरकारको आलोचनामा उत्रेका छैनन, किनभने अहिलेको अवस्थामा सरकारलाई कमजोर बनायो भने राष्ट्रियता डगमगाउँछ कि भनेर तर खोई त बुझेको ?
नालायकि पनको पनि हद हुन्छ, ग्याँसको बिकल्पमा दाउरा ल्याईएको छ । त्यो दाउरा उपत्यकाको दुई ठाउँबाट बाडिन्छ । अब ईन्धनको अभाव भएको बेलामा त्यो दाउरा आफनो निवास सम्म कसरी पुरयाउने ? टयाक्सीमा ल्याउने कि बोकेर ल्याउने ? आलोचना गरेर साध्य नै छैन ।
नेताहरुले निम्त्याएको यो बखेडा जनताले राष्ट्रियताको नाममा साथ दिएका छन, तर भोली यिनिहरुले जनताको धैर्यता र राष्ट्रवादलाई लत्याएको खण्डमा के हुने ? शब्द जाल र राजनीतिमा सधैभरी जनताको आँखामा छारो हाली राख्ने ? हामी जनता सधै गिता र महापुराण सुनेझै एकोहोरो सुनिरहने ?
यो सब लठारोको अन्त्य गरी प्रजातन्त्रलाई कम्तिमा १५ बर्ष कैदमा बन्दि बनाएर राष्ट्रवादी तानाशाहले देश हाक्नुको बिकल्प अब हामीसँग छैन । देशको समुन्नती, जनताको सुबिधाको लागि यो बाहेकको अर्को बिकल्प छैन । यो भन्दै गर्दा मैले यो देशलाई १५ बर्ष कसैलाई भाडामा दिएर १५ बर्षपछि फिर्ता लिउ भनेको होईन । देशकै नागरिक, देशलाई मायागर्ने नागरिक, बिद्धान र नेतृत्व लिन सक्ने नागरिकले देशलाई डोरयाउन जरुरी भईसकेको छ ।
यसका लागि म मेरो मौलिक अधिकार, वाक स्वतन्त्रताको बलि दिन तयार छु यदि देश समुन्नतीको मार्गमा हिडाउने राष्ट्रवादी तानाशाहले देशलाई डोर्याउन तयार छ भने । के हामी पनि तयार छौं ? यदि छौ भने अब सधैभरी यसरी नै रुमल्लिनु भन्दा बिकल्प खोज्नै पर्छ । भोली यो अवस्थाबाट पार भएपनि फेरी पर्सि उहि हो, खिचातानी, बिरोध, बन्द हडताल, नारावाजी आखिर बिग्रने देश, दुःख पाउने नेपाली जनता ।
ए बि सि डि जो सुकै होस, बस सेरोगेट हुनु भएन, देशलाई डोरयाउन, राष्ट्रवादी, बिद्धान, तानाशाह नेतृत्वको लागि सोचौं, लागौ र खोजौं ।
Comments
Post a Comment