दिल बिनाको दिल्ली



किशोर खड्का
विश्व मानचित्रमा उदायमान शक्तिको रुपमा उदाउदै गरेको भारत र त्यसको राजधानी हो नँया दिल्ली । एकातिर नँया दिल्ली बिकास, समुन्नती र प्रगतिको पथमा उदाउदै छ तर अर्कातिर मानवता र आतिथ्य भुल्दै छ दिल्ली । 

केहि समय अगाडी युबिएमले भारतको राजधानी दिल्लीमा आयोजना गरेको साउथ एसियन ट्राभेल सो (साट्टे) मा हामीपनि सुदूरपश्चिमको पर्यटकिय चिनारी झल्काउने ब्रोसर, तस्विर र अन्य सामाग्रि लिएर त्यहाँ जाने तयारीमा लाग्यौ । नाट्टा फारवेष्ट च्याप्टरको नेतृत्वमा च्याप्टरका अध्यक्ष माया प्रकाश भट्ट, पदाधिकारी प्रकाश भट्ट, परमानन्द भण्डारी, योगेन्द्र बम र म पनि भागलिन दिल्ली जाने भयौं । 

बिबिध कारणले युरोपियन र तेस्रो मुलुकका पर्यटकलाई सुदूरपश्चिममा राम्रोसँग चलायमान गराउन नसकिरहेको अवस्थामा भारतको राजधानी दिल्ली र उत्तराखण्डका नागरिक हाम्रा राम्रा पर्यटक हुन सक्छन भन्ने बुझाई हाम्रो हो र त्यसै पक्षलाई मध्येनजर गर्दै प्रचार र प्रवद्र्धनका लागि हामी दिल्ली जाने दिन आईपुग्यो । 

दिल्ली जाने क्रममा हामी धनगढीबाट महेन्द्रनगर हुदै गड्डाचौकी बोर्डर पुग्यौं । त्यहाँबाट महाकालीमाथि बनेको बनबासा पुल सुरु हुन्छ, जुन ब्रिटिस सरकारले ड्यामका लागि बनाएको थियो, जुन अहिले सम्म सुदूरपश्चिमको भारतसँग जोडने मुख्य नाकाको रुपमा रहेको छ । बनबासा पुल नपुग्दै करिब आधा किलोमिटर वरै भारतीय सुरक्षाबल एसएसबिको रुखो ब्यवहारले हामीलाई निरुत्साहित त बनाएन तर उनिहरुले नेपालीप्रति गर्नेे ब्यवहार भने प्रष्टै बुझने मौका जुरयो । 

महाकाली एउटा ठूलो नदी तर पनि सुख्खा । पानी नदेख्दा अचम्म लाग्यो, करिब आधा घण्टा हिडेर भारत पुगेपछी महाकालीमा पानी नहुनुको कारण छर्लगैं देखियो । पानी जती सबै भारतले बाँध बाधेर उतातर्फ लगेको रहेछ । महाकाली सुख्खा तर पानी सबै थुनेर नहरमा लगेको देख्दा राष्ट्रियता उर्लेर आयो । 

करिब ७ घण्टा गुडेर हामी दिल्ली प्रवेश गरयौं । अफिस आवरमा दिल्लीको जामले थकित ज्यूलाई थप थकित बनायो । त्यसैमाथी बेप्रवाह हाक्ने अटो रिक्साको दादागिरिले मनै कुड्यायो, कति हतारो र पेलेर लान सकेका ? अरु सवारी पनि त त्यस्तै, रोड ठूला तर मन साना, कसैले कसैलाई एक ईञ्च पनि ठाउँ पनि दिन नसक्ने । मनै साना भएपछि फराकिला रोड पनि साघुरै हुने भए । 

पहिलो साझँको बसाई पहाडगंजमा भयो । रक्सी खोज्न निकै टाढा जानु पर्ने रहेछ तर मोबाईल, पर्स, घडी होटेलको रुममै छोडनु पर्ने । पाएको सूचना पनि ग्रहण गर्ने परयो नँया ठाउँमा, होटेलको केटाले यस्तै जानकारी दिए हामीलाई । रक्सी पनि बाहिर खान नपाईने रहेछ, कोठामै ल्याएर चिसो भएको चिकेन रोष्टसँग दिपक जि र मैले दुई दुई पेग घुट्क्यायौं । 

दोस्रो दिन साँझ साट्टेबाट निस्केर दिपकजी र म ईण्डिया गेटतर्फ टहल्न जाने भयौं । नजिकै छ भनेको सुन्दा यसो हिडदै सोध्दै जाउला भन्ने भयो । पैदल यात्री बिरेलै देखिन्थे सडक पेटिमा तर सडकभने गाडीले भरिभराउ, तराईमा बिस्तारै बगेको नदिको बहाव जस्ता । हातमा साट्टेमा संकलन गरेको झोला र सामाग्रि त्यसमा थिए । मेला नितान्त ब्यवसायी र पर्यटनसँग सम्बन्धित कम्पनीका लागि आयोजित थियो । भिजिटरमा पनि कडाई, अनलाईन बुकिंग गरेका कम्पनीले मात्र छिर्न र भाग लिन पाउने ।

केहि बेर हिडेपछि २ जना बटुवालाई ईण्डिया गेटको लोकेसन सोध्यौ । उनिहरुले साट्टे भित्र हामीलाई पनि छिराउनुस भन्न थाले । उनीहरुले हाम्रो हातमा बोकेको झोला देखेर भित्रबाट आएको अनुमान लगाएका थिए होलान । हामीले यो ब्यापारी र यसैसँग सम्बद्ध ब्यक्ति र कम्पनीका लागि मात्रै हो त्यै पनि अहिले बन्द भईसक्यो भन्यौ । उनिहरुले भोलीका लागि पास पो माग्न थाले । हामीले लोकेसन सोध्नेमा जोड दियौं, उनिहरु पहिला पास देऔ अनी भनौला भन्न थाले । हया यिनिहरुसँग अल्झिनु भन्दा अघि नै हामीले जाने अनुसारको बाटोबाट हिडौ भनेर फुत्कियौं । 

करिब १० मिनेट हिडेपछि एउटा जक्सन जस्तो ठाउँमा केहि मानिस सडक पेटिमा भेटिए । दिल्ली गेटका रास्ता यहि है भनेर सोध्यौ । अधबैसे, झुस्स दाह्री पालेका तिनले उल्टै प्रश्न सोधे, कहाँसे आए हो ? हामीले भन्यौं वो बात छोडो दिल्ली गेट जानेका रास्ता यही है कि नहि म केहि कड्किए । उसले फेरी भन्यो, पहले बताओ तो सहि, कहाँ से आए हो ? मैले रिस थाम्न सकिन र भने भाडमे जाओ । हामीले त्यहीबाट भएपनि ईण्डिया गेटको माथिल्लो भाग देखिसकेका थियौं, खाली जाने उर्पयुक्तबाटो मात्र चाहिएको थियो । त्यहाँबाट १० मिनेट जती फेरी हिडेपछि दिल्ली गेट पुग्यौं । 

करिब आधा घण्टाको हिडाईले पानी प्यास लागेछ, छेउमा राखेको ठेला जस्तै आईसक्रिमबालाले पानी पनि बेच्न राखेको रहेछ, हामीले १ बोतल पानी माग्यौं । अलि अलि थकान पनि लागे जस्तो भएको थियो । एउटा कुर्चि खालि रै छ । दिपकले मलाई बस्न भने, मैले दिपकलाई  तर बस्न दुबैजनालाई पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । बसौ बसौ गर्दा कहाँबाट टुपुलुक्क आएर त्यही ठेलाबालाको चिनजानको मान्छे आएर बसिहाले । उल्टै कहाँबाट आएको, किन भनेर सोध्न थाल्यो । एक मनले त त्यही कुर्चि टिपेर हानौ जस्तो लागेको थियो तर त्यस्तो ठिक होईन भन्ने भयो र पानी पनि नकिनेरै हिड्यौ । होस्पिटालिटीको नमुनानै देखे जस्तो लाग्यो । 

आज मेलाको अन्तिम दिन, २ बजेतिर धनगढीका लागि दिल्लीबाट हिडने तयारी थियो । बिहानको समयमा दार्जिलिगं मुलघर भएर दिल्लीमा बस्दै आएकी निशा र छोरी प्रभीलाई भेटन जाने भए । उनीहरु एअरपोर्ट साईडमा बस्दा रहेछन । हामीसँगै लिएर गएको गाडि एअरपोर्ट जानुपर्ने थियो, साथिको म्याडमलाई पिकअप गर्न म पनि आधा बाटो सम्म त्यसैमा जाने भए । ओभर फ्लाईमा  झर्नु भनेकाले म त्यही झरे । मैले हामीले बुक गरेको गाडिको ड्राईभरबाट सुरुकै दिन भारतको आईडियाको सिम पनि लगेको थिए । झरेर निशालाई फोन गरे । निशा लिनलाई आइन तर म केही वरै ओर्लिएको रहेछु । मैले उनलाई उनले मलाई फोन गर्दा गर्दै मोबाईलमा ब्यालेन्स सकिएर फोन आउने जाने बन्द भयो । रोमिगं पनी काटने र पैंशा सकिएपछि फोन आउने सेवा पनि बन्द हुदो रैछ ।

मैले झरेको ठाउँको लोकेशन निशालाई भनी सकेकाले त्यहीनेर आउलिन भनेर कुरी बसे । त्यसैबेला दुईजना पहेलो लुगा लगाएका बाबा टहल्दै आईपुगे । भोलेबाबा भला करेगा डालदो झोलीमे लक्ष्मी भन्दै झोली देखाउन थाले । खल्तीमा ५ रुपैयाका ईण्डियन सिक्काहरु रहेछन झिकेर हाल्नै लागेको थिए, उनले रोके र हातमा बेरेर राखेको सर्पलाई छुवाएर हाल्न भने, मैले त्यसै गरे । फेरी उनि भन्न थाले, खल्ती मै नोट है तो यहाँ छो के फीर रखलो अपने पास, मनका चाहा मिलेगा, भोले बाबा खुस होगें । म भयो भयो भन्दै थिए उनि निकै जिद्धि गर्न थाले, रिस उठेपछि मैले भने चलो भोले बाबा मेरा बुरा करे कोई बात नहि तुम चलो यहाँसे तंग मत करो भनेर चिढिए । तर उनले आफनो अडान छोडेनन् । नजिकैको खुद्रा पसलेले यो गतिबिधी देखिरहेको थियो, भित्रबाट उ करायो, तंग क्यु करते हो, जाओ यहाँसे भनेपछि बल्ल उनिहरुबाट छुटकारा पाईयो । 

१० मिनेट कुर्दा पनि निशा नआएपछि रिचार्ज खोज्न निस्किए । बिहान भएर पनि होला अधिकांश सटर बन्द थिए । गल्ली भित्रका पसल तिर भेटिएला भनेर खोज्दै हिडे, सोध्दा नजिक भेटिएन । करिब ३०० मिटर जति भित्र जहाँ रिचार्ज पाउने रहेछ, त्यो पनि बन्द रहेछ सोध्दा खोज्दा कतै भेटिएन । काठमाण्डौंमा पसल पसलमा रिचार्ज भेटिने र लिने गरेको बानी त्यसरी नै भेटिएला नि जस्तो लागेको थियो । एकजना स्टेसनरीको भाई फोन गर्नका लागि आफनो फोन दिन तयार भए । उनले निशासँग कुरा गरेर मलाई पुनः पहिलेकै ठाउँमा जान भने, निशा र छोरी प्रभि त्यही कुरीरहेका रहेछन् । 

करिब साढे २ बजे दिल्लीबाट हिडेका हामी नेपाल त राती ढिला नै पुग्ने भयौं । हुन त दिल्लीबाट गड्डाचौकी सम्म ७ घण्टाको बाटो हो तर जामले अलि बढी नै भयो । फर्कदै गर्दा हामीले ४ दिन सम्मका लागि रिजर्भ गरेर लगेको गाडिका गुरुजिले तनाव दिन थाले । उनको पनि धक्कु नै ठूलो, भन्न थाले, हम खटिमा बाले है, बनबासा बाले नहि । पाँच पाँच सय रुपैया भारु टिप्स दिन खल्तीमा हात पुरयाईसकेका हाम्रा साहुजिहरुको मुड खराब भयो, खल्तीमा हालेको हात पनि बाहिर निस्कियो पछि यस्तै भनेको सुने ।

यि तिता भोगाईको अनुभव पश्चात पनि दिल्लीमा अवस्थित अक्षर धामको संरचना र ब्यवस्थापन, साँझको समयमा ईण्डिया गेट वरपरको वातावरण, फराकीला र चिल्ला रोड, बाटोमा खाद्यसँगै बारीमा पनि रोपेका बोट बिरुवा देखेर भने निकै प्रभावित भए ।

तर हामी एउटा पर्यटक भएर जाँदा गरेका अनुभव र दिल्लीका केहि नागरिकहरुको ब्यवहारले भने लाग्यो, दिल्लीले पर्यटकलाई गर्नुपर्ने ब्यवहार अझै सिकेको छैन, अझ धेरै सिक्न र गर्न बाँकि छ ।
जय पर्यटन । 

Comments

Popular posts from this blog

सदाबहार खप्तड

सुदूरपश्चिममा चैते दशैको रौनक, लींगो ठड्याउने संस्कृति (तस्वीरमा)