एकतन्त्रिय शासकको १५ बर्षिय योजना
किशोर खड्का
राती हिन्दी च्यानलमा आएको सिनेमा हेर्दा सुत्न अबेर भएछ । बिहान ८ बजेतिर निद्रा खुल्यो त्यो पनि श्रीमतीले ल्याएको चियाको लोभले । ओछयानबाट राम्रोसंग नउठी सिरानमैं अडेश लगाएर चिया पिउन थाले । एउटा चुरोट पनि सल्काएर ओछयानबाटै ढल्किएर चार्जमा लगाएको मोबाईल थुतें, चार्ज फुल भएको रहेछ खुशि लाग्यो । दिनभरी चार्ज गर्न पाईन्छ पाईदैन, राती नैं भएपनि चार्ज भएछ । बत्तिको ठिक ठेगान छैन । प्राधिकरणले लोडसेडिगं तालिका त निकालेको छ तर तालिका अनुसार हुने भएपो । कहिले दिनभर बत्ति जान्छ, कहिले आएको ५ मिनेट नटिक्दै फेरी जाने गर्दा पछिल्ला दिनहरुमा चार्ज नभएर मेरो मोबाईल ३ दिन सम्म पनि अफ भएको छ ।
मोबाईलमा भएको दुईवटै सिम (एनसेल र नमस्तेमा टावर थिएन । बैशाख १२ गतेको भुईचालो पश्चात हामी बस्ने ठाउँमा नमस्तेको नेटवर्क टिप्दैन । मन नपरेपनी एनसेलले टिप्ला भनेर एनसेल सिम निकालेको थिए, आज त्यसमा पनि टावर थिएन । केहि गडबड भयो कि भनेर मोबाईल रि स्र्टाट गरे, ५ मिनेट कुर्दा पनि फेरी टावर आएन ।
उठे, चिसो पानीले मुख भिजाएर ज्याकेट भिर्दै बाहिर निस्कें । बाहिर हुस्सुले राम्रोसित छोडेको थिएन । टहल्दैं दुई मिनेट लागेर नजिकैको चोक सम्म पुगें । यताउति सबै पसल बन्द थिए । अचम्म लाग्यो किन पसल बन्द गरेको होलान भनेर । सोचें शनिबारको दिन, त्यसैमाथि चिसो बढेर होला । चोकभन्दा केहि पर रहेको मेडिकल र स्टेसनरी पसल खुला थियो, म स्टेसनरी पसलतिर लागें । पुग्न नपाउँदैं हुरुरु प्रहरीको जिप आईपुग्यो । एउटा प्रहरीले जिप भित्र बाटै थर्कायो, ओ कहाँ जान लागेको ? मैले पत्रिका किन्न भनेर जवाफ दिए । उस्ले कडा स्वरमा फेरि थर्कायो, चाडो गैं हाल । म चुपचाप पसलतिर गए । प्रहरीको जिप उतातिर गईसकेको थियो । पत्रिका पसलको दाईसँग सोधे, के हो दाई यस्तो चाला ? उस्ले भन्यो, खैं भाई देशमा केहि बिपत आए जस्तो छ । बिहानैं देखि यस्तै हो । कोहि बाहिर निस्केका छैनने । निस्क्यो भने प्रहरीको हप्काई भेटाउनु पर्छ, सायद कु भए जस्तो छ । म एकाएक छाँगाबाट खसे जस्तैं भए । कान्तिपुर र नागरिक पत्रिका किनेर हतार हतार घरतिर लागे ।
टिभि खोले, कुनैपनि च्यानल थिएनन्, सबै काटिएका । मोबाईलमा अझैं टावर आएको थिएन । मोबाईलमा एफएम लगाएर सुन्न खोजेको, कुनै फ्रिक्वेन्सि भेटिएन । अब मलाई पक्का भयो देशमा ठूलै घटना घटयो, कसैले कु गर्यो । म बिगत सम्झिए । २०६१ सालको कुरा हो, माघ १९ गते पूर्बराजा ज्ञानेन्द्रले कु गर्ने बेलामा पनि यस्तै लक्षण थिए, त्यतिबेला संचार त अबरुद्ध थिएन तर बिहानैं देखि काठमाण्डौंका चोक चोकमा मिलेटिका ठूला ठूला ट्रक तैनाथ थिए । आज मैले मिलेट्रि र उनिहरुका सवारी त देखेन तर प्रहरीका हतारो र हप्काई देख्दा, स्टेसनरीका दाईले भनेका कुरालाई सोच्दा पक्कै पनि कु गरेको आशंका थप मजबुत बन्यो ।
धेरै प्रयास गरें, टिभिमा च्यानल आएनन्, मोबाईलमा नेटवर्क आएन । दिउसो ठिक १२ बजे खुल्ला छाडेर नेपाल टेलिभिजन समात्ने च्यानलमा लगाएर छोडेको टिभिले करयागं कुरुगं गर्यो । ए अब आउने भो कि भनेर टिभिमा घोत्लिएर बसेको थिए, सुरुभयो पनि । त्यहाँ एकजना समाचार बाचकले दौरा सुरुवालमा बोल्न सुरु गरें । नमस्कार म .........अब फलानोबाट जारी सन्देश सुन्नुहोस् । टिभिमा अर्को ब्यक्ति देखिए, उनले नमस्कारबाट अभिबादन सुरु गरे र आफ्नो सन्देश सुनाउन थाले ।
प्रिय देशबासिहरु,
आज आएर देश तहस नहसको अवस्थामा पुगेको छ, गरिबि, भ्रष्टाचार, अन्याय, अत्याचार, मनपरी, लुट मौलाएको छ । राजनीतिले देशलाई छाडा बनाएको छ । जहाँ त्यहि अभावै अभाव छ, जन्ताको शान्ति अमन चयन लुटिएको छ । राजनीति र शासनका नाममा जहिले पनि देश र देशबासिलाई भेडा बनाईएको छ । आजको अवस्थामा आएर एक नेपाली अर्को नेपालीको शत्रु, बिरोधि बनेका छन् । जातियता, क्षेत्रियताले देशलाई बिखण्डनको बाटोमा धकेलेको छ । अन्तराष्ट्रिय शक्तिहरु देश र देशबासि माथि हावि भएका छन् । चारैतिर असहस परिस्थिती श्रृजना भएको छ ।
यि सबै पक्षलाई मध्येनजर गर्दै मैले यो देशको शासन सत्ता आफनो हातमा लिन बाध्य भएको छु । विश्वमै उत्कृष्ट मानिएको संबिधान २०४७ लाई ब्युताएर त्यसमा रहेका धारा १२ को वाक तथा अभिब्यक्ति स्वतन्त्रता, धारा १३ मा रहेको मौलिक हकलाई कटौति गरेको छु । त्यसैगरी धारा ११५ अनुसार संकटकाल लगाउन सकिने धारालाई ब्युताएर देशमा संकटकालको घोषणा गरेको छु ।
अबको १५ बर्ष भित्रमा नेपाललाई सुन्दर, शान्त र समुन्नत नेपाल बनाउने प्रण गर्दै मेरो यस निर्णयलाई आम नेपाली दाजु भाई, दिदि बहिनी र बुवा आमाले स्विकार गरी यसलाई सफल पार्न सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा पनि गरेको छु । देश र देशबासिका लागि मैले लिएको यो निर्णयबाट देशबासिमा पर्नजाने असुबिधाका लागि क्षमाप्रार्थि हुंदै अबको केहि क्षण देखिनैं जनजिवन सामान्य रहने र आ आफनो पूर्ववत दैनिकी संचालन गर्न सम्पूर्ण देशबासिमा आग्रह गर्दछु ।
अबको १ हप्ता भित्रमा योजना सहितको देश बिकासको खाका यहाँहरु समक्ष लिएर आउनेछु तब सम्म धैर्य धारण गरि बसिदिन हुन आम देशबासिमा बिनित भएर आग्रह गर्दछु ।
धन्यवाद
जय राष्ट्र
फेरि टिभिको च्यानल बन्द भयो । यति भनिसकेपछि म प्रष्ट भैं सके अब देशमा तानाशाहको पुनः सुरुवात भयो । फेरी घर बाहिर निस्किए, यस्सो पल्लो घरतिर कुरा गरेको सुनें । देशका सबैजसो नेताहरु धमाधम थुनिदैं छन रे । कसैलाई मुस्तागं, कसैलाई डोल्पा, कसैलाई दार्चुला, कसैलाई ताप्लेजुगंको जेलमा लगिदैं छ रे । चिनेका र देखीएका जति सबै नेताको खोजि हुदैं छ रे हाम्रो छेत्रका माननीयलाई पनि अघि आफन्तको घरबाट समातेर लगे रे । अन्तराष्ट्रिय उडानहरु पनि सबै रद्ध गरिएका छन रे । हे भगवान फेरी के हुन लागेको हो यो देशमा । दुई भन्दा बढि मानिस पनि संगै नहिडनु रे । प्रहरी र सेनाले भनेको कुरा मान्नु रे आदि ईत्यादी ....... ।
करिब १ हप्ता यसरी नैं बित्यो । त्यतिबेलाका दिनहरु करिब सुनसान सुनसानै रहे । अफिस गएर पनि घाम तापेर बस्ने सिवाय केहि काम भएन । देश कुन बाटोमा हिडने हो, हाम्रो दिन कसरी अगाडि बढने हुन भन्ने पिरलो मनमा रहि रहयो । कु भएको दिन देखि ४ दिन सम्म ईन्टरनेट थिएन । केबलमा नेपाल टेलिभिजन, रेडियोमा रेडियो नेपाल, पत्रिकामा गोरखापत्र बाहेक अरु केहि भएनन् । उनिहरुमा पनि कुनै राजनीतिक र अहिलेको बर्तमान अवस्थाका समाचारहरु छैनन् । केबल सफलताका कथाहरु, कृषि, जलबिद्युत, पर्यटनका सम्भावना आदि यस्तै यस्तैं ।
ठूलो सकसका साथ एक हप्ता बित्यो, आजको पत्रिका, टिभि र रेडियोले बिहानैदेखि फलाक्न थालेका थिए, आज दिउसो १२ बजे देश र देशबासिका नाममा सन्देश प्रशारण हुदैछ । म पनि आज अफिस गईन, घरमै बसें १२ बजेको पर्खाईमा । कुर्दा कुर्दा १२ पनि बज्यो । ठीक १२ बजे पुनः एक हप्ता अगाडि सम्बोधन गर्ने ब्यक्तिले आफनो बक्तब्य सुरु गरे..........।
टेलिभिजनमा अन्य च्यानलहरु, पत्रपत्रिकाहरु, एफएम रेडियोहरु, अनलाईन समाचार पोर्टलहरु संचालन भएपनि पत्रकार आचारसंहितालाई कडा रुपमा लागु गरिएको छ । राजनीति बाहेक अन्य समाचार तथा घटनाक्रमहरु मात्र प्रकाशन तथा प्रशारण गर्न अनुमति दिएको छ । पत्रकार आचारसंहितामा केहि थप बुँदाहरु थपेर सत्ता, राष्ट्र, राष्ट्रिय अखण्डता, जातिय जस्ता बिषयमा खलल पुग्ने खालको समाचार, बिचार प्रकाशन नगर्न कडा चेतावनी दिईएको छ, गरेको खण्डमा हदैसम्म कारबाहि हुन सक्ने प्राबधान राखिएको छ ।
१५ बर्ष सम्मको एकतन्त्रिय शासन र देश बिकासको योजना अन्तर्गत आजको पत्र पत्रिका, टेलिभिजन, अनलाईन माध्यम र एफएम रेडियोहरुमा एउटा समाचारले प्रमुखता पाएको छ । बर्तमान सरकारले सबैभन्दा पहिला बस्ति ब्यवस्थित गर्ने रे ।
हिमाली क्षेत्रमा रहेको सबै बस्तिलाई पहाडका खुल्ला ठाउँमा स्थानान्तरण गर्ने रे । जसले गर्दा ब्यवस्थित, समुचित, तिब्र रुपमा बिकास गर्न सकियोस । यसरी बस्ति ब्यवस्थित गर्दा सबै जन्ता सम्म बिकासका पूर्बाधार पु¥याउन सकिने सोच रहेछ बर्तमान शासक र सरकारको । हिमालमा थोरै मात्रामा भएको जनसंख्या र उनिहरुको पशुपालन पेशाले गर्दा हिमाली क्षेत्रको जडिबुटि, दुर्लभ बन्यजन्तु सखाप हुन थाले रे । त्यसैगरी अति चरनले गर्दा माटो बगेर पहाड र तराईको उर्बर भूमि क्षति पुरयायो रे । अर्कोतिर छरिएर रहेको बस्तिलाई भने जस्तो तरिकाले रोड, बिद्युत, खानेपानी आदि बिकासका पूर्बाधार पु¥याउन सहज होस भनेर यसो गर्न थलिएको रे ।
बस्ति स्थान्तरण पश्चात खाली गरिएको हिमाली क्षेत्रलाई हिमाली राष्ट्रिय निकुञ्ज घोषणा गर्ने र सोहि बमोजिमको काम थालनी गर्ने रे । विश्वको अग्लो स्थानमा रहेको सबैभन्दा ठूलो क्षेत्रफलमा अवस्थित यो निकुञ्ज विश्वकै नमुना तथा पर्यटकीय आर्कषणको केन्द्र बन्न सक्ने आँकलन गरिएको रहेछ । यसो गर्दा दुर्लभ बन्यजन्तु, जडिबुटि, बनस्पतिको संरक्षण हुनका साथैं हिमाली क्षेत्रबाट स्थान्तरण गरिएको जनसंख्यालाई त्यहाकैं पर्यटनसँग सम्बन्धित गतिबिधि संचालन गर्न दिईने रे । उक्त जनसंख्याले नपुगि पहाडि क्षेत्रमा रहेको जनसंख्यालाई पनि त्यसमा काम लगाउने, रोजगार सृजना गर्ने रे । त्यतिले पनि नपुगे रोजगारका लागि बिदेशबाट कामदार ल्याएर काम गर्ने र गराउने रे ।
यसको सम्भावना अध्ययनको लागि आज बिज्ञहरुको टोली देशका ५ वटै बिकास क्षेत्रमा जादैं भन्ने शिर्षकहरु सबैजसो समाचार माध्यमका प्रमुख समाचार बनेछन् । ३ महिना भित्र उक्त टोलिले अध्ययन प्रतिबेदन बुझाएपछि अर्को ६ महिनामा बस्ति स्थान्तरण गरी हिमाली राष्टिय निकुञ्ज निर्माणको काम थालनी हुने रे ।
त्यसैगरी पहाडि क्षेत्रको खाली स्थानमा तरकारी तथा फलफुल खेतिको थालनी गरिने रे । खोला तथा नदिको छेउ छाउ र खालि जग्गामा बृक्षारोपण गरी हरियो बनलाई नेपालको धनको रुपमा परिणत गर्ने रे । त्यसका लागि बिदेशी बिज्ञहरु र मजदुरहरु पनि कामका लागि नेपाल ल्याइने रे । तराई क्षेत्रको उर्बर भूमिलाई थप ब्यवस्थित गरी खाद्य बालि उत्पादन तथा ब्यवसायिक कृषिलाई दिगो योजनाका साथ अगाडि बढाईने रे ।
नेपालको जलमा भएका पुराना सबै सन्धि सम्झौता खारेज गरि नँया सम्झौता गर्ने रे । पश्चिम सेती, अपर कर्णाली जस्ता ठूला जलबिद्युत योजना निर्माणका लागि अन्तरािष्ट्रय रुपमा टेण्डर आवहवान गर्ने रे । जसले टेण्डर प्राप्त गर्यो उस्ले १०० बर्ष सम्म उक्त योजना संचालनको जिम्मेवारी पाउने र १०० बर्ष पछि नेपाललाई नैं पूर्ण रुपमा हस्तान्तरण गर्नुपर्ने रे । उस्ले गरेको लगानी बापत १०० बर्ष सम्म कुल बिद्युत उत्पादनको ५० प्रतिशत बिद्युत उस्ले पाउने र ५० प्रतिशत बिद्युत नेपाललाई नैं दिनु पर्ने रे । त्यसैगरी सानातिना जलबिद्युत आयोजनामा बर्तमान सरकार आफैं, बिदेशमा रहेका नेपाली र अन्य नेपालीको साझा लगानमिा निर्माण गर्ने रे । ५ बर्ष भित्रमा नेपालको कुल जलबिद्युत क्षमत्ताको २० प्रतिशत जलबिद्युत निकाली सक्ने रे ।
आज फेरी संचार माध्यममा तहल्का मच्चिएको छ । सरकारको प्रबक्ताले १ बर्ष सम्म नेपालका सबै क्षेत्रमा सडक बिस्तार गर्ने कार्य बन्द गर्ने बक्तब्य दिएका रहेछन् । बिग्रे भत्केका सडकहरुको मर्मत सम्भार मात्र गर्ने र पहिलो बर्ष नेपालको सबै रोड बिस्तारमा गरिने लगानि सुदूरपश्चिममा गर्ने रे । ब्यवस्थित गरिएको बस्ति बस्ति सम्म कम्तिमा २ देखि ३ लेन सम्मको पक्कि सडक बनाउने र प्रत्येक जिल्लामा रहेका एअरपोर्टलाई पिच गर्ने र संचालनमा ल्याउने रे । अर्को बर्ष मध्यपश्चिम, पश्चिम, मध्य र पूर्बाच्लमा सोहि बमोजिम सडक बिस्तार गर्ने रे । यसो हुँदा मज्जाले रोडमा लगानी गर्न सकिने, बस्ति बस्ति समम पिच, गुणस्तरिय बाटो बनाउन सकिने, प्रभावकारी ढंगले काम गर्न र अनुगमन गर्न सकिने सोच तथा योजना रहेछ ।
एकतन्त्रिय शासनको तेस्रो बर्षको सुरुवातमैं फेरी नँया घोषणा तथा योजना सार्बजनिक भयो । यो बर्ष धनगढी, भैरहवा, सिमरा, भद्रपुर र पोखरा बिमानस्थललाई अन्तराष्ट्रिय बिमानस्थल निर्माणमा लगान िगर्ने रे । १ बर्ष भित्र सबै बिमानस्थल निर्माण कार्य सकाउने रे । त्यसैगरी ५ बर्ष भित्रमा ६ वटा राष्ट्रिय ध्वजाबाहक किन्ने रे, ३ वटा अन्तराष्ट्रिय र ३ वटा आन्तरिक उडानका लागि । पहाडी जिल्लाहरुमा दिनहु या दुई दिनको एक पटक सम्म उडान गर्न सकिने रे । स्वेदेशि नागरिकलाई राष्ट्रिय ध्वजाबाहकमा यात्रा अनिबार्य र बिदेशीलाई यात्रा गर्न आग्रह गर्ने रे ।
प्राबिधिक शिक्षालयहरु ५ वटै बिकास क्षेत्रका तराईका जिल्लामा स्थापना गरिने रे । सस्तो तथा सुलभ रुपमा कृषि, भेटेनरी, पर्यटन, होटेल ब्यवस्थापन जस्ता बिषयहरु ति बिद्यालयमा पढाई गरिने रे । त्यसैगरी अस्पताल पनि अस्पताल काठमाण्डौ र वरपर नथुपारी ५ वटै बिकास क्षेत्रमा तुलनात्मक रुपले जनसख्याका आधारमा स्थापना गर्ने रे ।
एकतन्त्रिय शासकको आज चौथो बर्ष लाग्दै गर्दा ५ बर्ष भित्रमा नेपालको पूर्ब पश्चिम जोडने बिदुतिय रेलमार्ग निर्माणमा बर्तमान सरकार जुटेको छ त्यसका लागि चिनिया, जर्मन बिज्ञहरुको आज नेपाल आईपुग्दै छन् । त्यसैगरी सरकारले अधिकांश यातायात बिद्युतबाट चल्ने गरी मात्र नेपाल भित्रन अनुमति दिने भएको छ । लामो दुरिका सबे बसहरु बिद्युतबाट सचालन हुने बनाउने घोषणा भएको छ । यि सबै निर्माण कार्य र पूर्बाधारका लागि अमेरिका, जापान, बेलायत, डेनमार्क, चिन सरकारसँग बिना ब्याजको रिणका लागि सरकारले आग्रह गरेर पत्राचार गरेको पनि समाचार आजै बिहान सबैजसो पत्रपत्रिकाहरुले प्रकाशन गरे ।
यसै महिना चिनसँग जोडने र सहज नाकाहरुलाई ३ लेन सम्मको रोड बनाएर ब्यापारिक सम्झौताहरु गरिएका छन् । चिन सरकारले नेपालसँग निर्बाध र सहज रुपमा ब्यापार गर्न पाएकोमा आज खुशि ब्यक्त गरेको समाचार अन्तराष्ट्रिय सचारमाध्यमहरुले प्राथमिकताकासाथ प्रकाशन र प्रशारण गरेका छन् ।
आज नेपालमा प्रजातन्त्र मासिएर एकतन्त्रिय शासन लागु भएको १० बर्ष बितिसकेको छ । आउदा ३ बर्ष नेपाल र नेपालका बिभिन्न पर्यटकीय क्षेत्रलाई नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरिदै छ । ३ बर्ष सुदूरपश्चिमलाई लिएर खप्तड भ्रमण बर्ष र मध्यपश्चिमलाई समेटेर रारा भ्रमण बर्ष मध्यपश्चिम र पश्चिमाञ्चललाई समेटेर मुस्तांग तथा लागंटाग भ्रमण बर्ष, पूर्बाञ्चललाई समेटेर सगरमाथा भ्रमण बर्ष आयोजना गरिने भएको रहेछ । यि ३ बर्षमा करिब १ करोड भन्दा बढी पर्यटक नेपाल भित्रयाउने र अर्बौ रुपिया राजस्व सकलन गर्ने, नेपाली लगायत बिदेशिलाई पनि रोजगार दिने उद्देष्यकासाथ सरकार तिब्र रुपमा काम गरिरहेको छ । सिएनएन, बिबिसि, नेशनल जिओग्राफि जस्ता टेलिभिजनमा नेपालको पर्यटनसँग सम्बन्धित बिज्ञापन दिनमा ३–४ पटक सम्म प्रशारण भईरहेका छन् ।
धेरै बिदेशीहरु नेपाल आउन लालायित भएको कुरा उनिहरुले आफनो सामाजिक सजालमा राखेका छन् । नेपालको सुन्दरताका साथै प्रजातन्त्र नहुदा पनि देशमा भएको तिब्र पुर्बाधार बिकास, मानव चेतनाको बिकासको नमुना, हिमाली राष्ट्रिय निकुञ्ज अबलोकन गर्ने, पदयात्रा गर्ने मनशाय ब्यक्त गरेका छन् । उक्त अभियानमा यो बर्ष नै करिब ३० लाख बिदेशीले नेपाल आउने प्रतिबद्धता गरिसकेको रहेछन् ।
हिमाली राष्ट्रिय निकुञ्जको ब्यवस्थापन, शहरी क्षेत्रको सरसफाई र भारि बोक्ने मानिस नपुगेर आउँदो बर्षको लागि करिब ५० हजार बिदेशी कामदार नेपाल ल्याउने तयारी भईरहेको आजै सरकारका प्रबक्ताले एक सार्बजनिक कार्यक्रममा बोलकेका रहेछन् । जन्ताहरु पनि लोडसेडिंग, बन्द हडताल, नाराबाजी, महगी, अभाव, बेरोजगारी, चोरडाकाहरुबाट छुटकारा पाउदा अत्यन्तै हर्षित भएको सामाजिक सजालमा अभिब्यक्तिहरु देखिन्छन् ।
आज एकतनित्रय शासन लागु भएको १४ औं बर्ष प्रवेश गरेको छ । आजदेखि नेपाल सरकारले नेपालको तराई क्षेत्र जुन भारतसँग जोडिएको छ, तारबार लगाउन सुरु गरेको छ । एक बर्ष भित्रमा तारबार लगाईसकेपछि भारत जाँदा र नेपाल आउन भिसा सिस्टम लागु गर्न सरकारको तयारी रहेको छ । त्यसैगरी चिनतर्फका खुल्ला नाकामा पनि तारबार गर्न सुरु भएको छ ।
घोषणा भए अनुरुप हुने हो भने अब एकतन्त्रिय शासकको समय ३ महिना मात्र बाँकि छ । आजै बर्तमान सरकारले बिदेशी राष्ट्रहरुबाट लिएको ऋण पनि ८० प्रतिशत फिर्ता गरेको छ, बाकि ३ महिना भित्रमा चुक्ता गरिने ब्यवस्था मिलाईएको छ । ३ महिना पछि यहि शासन लम्बिने हो, देशमा प्रजातन्त्रको पुर्नबहाली फेरी हुने हो थाहाँ छैन । तर आज किन हो म आज बिहानैदेखि बिगत केलाउदै र भविष्यलाई नियाल्न मन लागेको छ ।
जति बेला यो शासन सत्ता एकतन्त्रिय भएको थियो, त्यो भन्दा पहिले र नेपालमा सबिंधान जारी भएपछि करिब ४ महिना खाना पकाउन ग्यास नपाएको, अफिस जाने बेलामा चढन गाडीको छतमा पनि सिट नपाएको आज लगाएको लुगा धुलाम्य भएर भोली लगाउन नमिल्ने, डाँका र फटाहाहरुको बिगबिगि, देशमा उपप्रधानमन्त्री र मन्त्रीहरु दिनदिनै थपिने गरेको, कुनै बिकास निर्माण र योजना सुरु हुन लाग्दा भाजो हाल्न दलहरु मरिहत्ते गरी लागेको, देशमा डण्डहिनताले ब्यापकता पाएको दिनहु बिदेशिने युवाको लर्को र जहाँ हेर्यो निराशा नै निराशा मात्र । बेरोजगगारी, महंगी, प्रदुशण आदि ईत्यादी ।
आज आएर हेर्दा काठमाण्डौ लगायत शहरी क्षेत्रका घरहरु ब्यवस्थित छन्, रोडहरु कम्तिमा पनि ३ देखि ४ लेनका छन् । उपत्यका लगायत शहरी क्षेत्र र लामो दुरिमा ठूला ठूला बिद्युतबाट चल्ने बसहरु सञ्चालित छन् । पूर्ब पश्चिम जडान बिद्युतिय रेल संचालनमा आएको छ । निजि सवारी साधनहरु अत्यन्तै न्युन छन् । १५ बर्ष भयो, बन्द हडताल, नाराबाजी देख्न नपाएको । ताजा तरकारी र फलफुल नेपालकै खान पाईएको छ । रोडको पेटीबाट हिडदा पनि रोड फोहोर होलाकी भन्ने पिर पर्छ । रोडको छेउछाउमा सबैजसो ठाउँमा हरियाली छ । बिरुवाहरु रोपिएका छन् ।
लोडसेडिंग मुक्त देश घोषणा भएको छ, रोजगार गर्न बिदेश गएका नेपालीहरु प्रायः सबै नेपालमा फर्किसकेका छन् । यति मात्र नभएर बिदेशी मजदुर र बिज्ञहरुले समेत नेपालमा काम पाईरहेका छन् । जनतालाई राजनीतिमा चासो फिटिक्कै छैन । महिनामा सामान्य शुल्क तिरेर ईन्टरनेट देशको जुनसुकै भु–भागमा प्रयोग गर्न पाईएको छ । बिभिन्न ठाउँमा जडिबुटी प्रशोधन केन्द्र, औषधी कम्पनीहरु बनेका छन् ।
छोराछोरीलाई सरकारले १० कक्षा समम निःशुल्क पठन पाठनको ब्यवस्था गरेको छ । देशका बिभिन्न ठाउँमा प्राबिधिक शिक्षालयहरु ब्यवस्थापन गरिएका छन् । दार्चुला र ताप्लेजुगका बिद्यार्थि ति बिषयहरु पढन काठमाण्डौ आउनु पर्दैन, मैले दिनहु काममा जाने मौका पाएको छु । मेरो क्षमत्ता अनुसारको काम गर्न पाएकोमा खुशि पनि छु । घरबेटीले पनि मनपरी भाडा असुल गर्न पाएको छैन । निश्चित समय अबधिमा बढाएको छ, मेरो आम्दानीले मेरो बर्तमान र भविष्य सुरक्षित गर्न सक्ने भएको छु ।
तर ३ महिना पछि यो शासन प्रणाली सकिने सम्झिएर पुनः १५ बर्ष अघिका ति दिन फिर्ता हुन्छन् कि भनेर मनमनै कताकता चिन्तित पनि बनेको छु । फेरी त्यही बन्द, हडताल, पाईला पाईलामा राजनीति, अभाव, प्रदुशण, नया नया नीति, नंया नंया प्रयोग, नंया नंया नेता, दण्डनिहिताको पस्रय के के.......।
आज काठमाण्डौको खुल्ला मंचमा बिशेष समारोह रे । नजरबन्दमा राखिएका नेताहरुलाई खुल्ला मंचमा भाषण गर्न दिईने रे । आज बिहानै देखि एकतन्त्रिय शासनको अन्त्य भएको र प्रजातन्त्र पुनः बहाली गरिएको बक्तब्य आईसकेको छ । कतिपय नेताहरु त बिरामी भएर र उपचार गर्दा गर्दै परमधाम पनि भईसकेका छन् । जिबित रहेकाहरु पनि कस्ता छन्, एक पटक हेर्न पनि मन लागेको छ । आज म पनि अफिस नगएर उनिहरुको भाषण सुन्न जाने मनस्थिती बनाएको छु ।
टुडिखेलमा खुट्टा टेक्ने ठाउँनै छैन । टुडिखेललाई रंगिचंगी बनाएको छ मानौं दुलही भित्रयाउने घर सिंगारिए झैं । सायद यत्रो बर्ष सम्म देख्न नपाएका आफना अभिभावक हेर्न आएका नेताका कार्यकर्ता थिए, आर्मिका भ्यानमा नेताहरु एक एक गरी खुल्ला मंचमा ओसारिए । बरिष्ठ नेताहरुको उपक्रम मिलाएर स्वयंसेवकहरुले अगाडि राखिएका कुर्सिहरुमा बसाले । सबैजसो नेताले झुस्स दाह्रि पालेका थिए । उनिहरु अनौठो मानेर वरपरका दृष्य तथा आफु बसिरहेको कुर्सि मुन्तिरको जमिन हेरिरहेका थिए । सायद लाग्यो होला, हामीले २००७ सालदेखि भाषण गर्दै आएको यो हिलाम्ये चौर ढुंगाले छाईएछ, वरपर आखाले हेर्न भ्याए सम्मका दृष्यहरु परिवर्तन भएका छन् । चारैतिर हरियाली छ, पहिले भेडा जस्तै खुम्चिएर सानो माईक्रोमा यात्रा गर्ने यात्रुहरु आज २ तल्ले रंगिचंगी बसबाट उनिहरुलाई हेरिरहेका छन् ।
कार्यक्रम संचालकले कार्यक्रम सुरु गरे । मनतब्य राख्ने क्रममा तत्कालिन समयमा अपदस्त गरिएका प्रधानमन्त्रीलाई सुरुमा बोल्ने पालो दिईयो । १५ बर्ष भाषण गर्न नपाएका ति पूर्ब प्रधानमन्त्रीले भएभरको जोर निकाल्दै उखान टुक्काको चोटिलो प्रहारबाट भाषण गर्न थाले ।
आखिर प्रजातन्त्रको बिजय भयो नैं, हाम्रो १५ बषृको निरन्तर तपस्या र जेल नेलको भोगाई तानाशाहले सहन सकेनन् । देशलाई कैद गर्ने काम भयो, अब हामी देशलाई फेरी बनाउँछौ, नँया प्रजातन्त्रको अभ्यास गर्छौ, जन्तालाई शासक बनाउँछौं, तानाशाहले बनाएका सबै पूर्बाधारहरु भत्काई फेरी नँया बनाउछौं, नया नेपाल बनाउछौं आदि अदि । यसै बिचमा एउटा ठूलो ढुंगा गएर ड्याम्म ति नेताको निधारमा बज्रियो, सायद भिडबाट उनको भाषण सुनेर आक्रोशित भएका कुनै युवा थिए । उनका सेताम्ये कपाल र चाउरि परेको निधारबाट रगतको धारा बग्न थाल्यो ।
म झल्यास्स ब्युझिए, पुसको जाडो महिनामा पनि मेरो निधार र शरिर भरि पसिना निस्किएको रहेछ । श्रीमतिले अघि नैं टेबलमा ल्याएर राखेको चिया पनि सेलाई सकेको रहेछ । धत तेरी कस्तो सपना देखेछु, एकछिन घोत्लिए । एकछिन त नभई यो बिपना हो कि भनेर उठेर यस्सो बाहिर चियाए तर मेरो अगाडि अभावै अभाव, महंगी, भ्रष्टाचार, छाडा राजनीतिको भारी बोकिरहेको काठमाण्डौ र यहाँका जनता आफनो दिनचर्यामा लागिरहेका थिए ।
मितिः २०७२।०९।०५
Comments
Post a Comment